एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश छिर्‍यो, सुरक्षा व्यवस्था कडा



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झुलाघाट(चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गरेकोको छ।

१३ दिने संकल्प यात्रा अन्तर्गत आज घुर्मीमा सभा हुँदै छ। सभाका लागि एमाले अध्यक्ष ओलीसहितको टोली केहीबेर अघि सिन्धुलीको खुर्कोटबाट उदयपुरतिर अघि बढेको छ।घुर्मीको सभा सकेर टोली खोटाङको दिक्तेल बास बस्न पुग्ने छ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै पहिचान आन्दोलनकारीले अवरोध सिर्जना गर्न खोजिरहेका छन्। एमालेको यात्रालाई अवरोध पुर्‍याउने पहिचान पक्षधरले चेतावनी दिँदै आएका छन्। उनीहरूले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टि राख्ने समूहलाई अवरोध गर्ने बताएका छन्।

आन्दोलनरत पक्षले बन्दनै आह्वान गरेर अवरोध सिर्जना गर्न खोजिरहेका छन्।

एमालेको कार्यक्रममा अवरोध गर्नेगरी पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले एकीकृत सुरक्षा रणनीति अपनाएको छ। एमालेको यात्राका लागि मध्यपहाडी लोकमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन्। नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको नेपाल प्रहरीको भनाइ छ।

प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार  १२ : ४० बजे