मंसिर २७,काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबि गरेका हुन् ।
काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परेपनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोईरालाको भनाई थियो । नेता कोईरालाले पार्टी संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रश्ताव समेत राखे ।
उनले भने, ‘बेसीकल्ली राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राईटएरिया बनाऊँ । जे क्राईट एरिया बन्छ, पार्लियामेन्टी बोर्डले बनाउ । त्यो क्राईटएरियालाई अगाडि सारेर जाने भन्नेछ । हाम्रो समूहको एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन । के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ । काम गर्ने शैली पनि फरक छ । सोचाई पनि फरक छ । त्यो स्वभाविक छ । अन्यमा एजेण्डामा हाम्रो कुनै फरक मत छैन ।’
नेता कोईरालाले पार्टीमा सुधार ल्याउनका लागि आफूहरुले निरन्तर छलफललाई अघि बढाउने बताए ।
उनले नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक नभएको पनि उल्लेख गरे ।सञ्चारकर्मीसँग उनले भने, ‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन । कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ ।’
उनको बैठकमा पार्टीका महामन्त्री गगन थापा पनि सहभागी भए । धेरैपछि थापा पुनः कोइरालाको भेलामा सहभागी भएको विषयमा सञ्चारकर्मीले सोधेका थिए ।














