काठमाडौं महानगरपालिकाले प्रगतिशील कामहरु गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु गरिरहेको बताएका छन्। शुक्रवार काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले महानगरले शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरुको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, लागुऔषध, सुर्ति, चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए।

दाहालले थप भने, ‘२०५२ साल मंसिर २९ गतेलाई मैले महानगर घोषणा दिवसका रुपमा मात्र स्मरण गर्न चाहन्न । यस दिनले साँचो अर्थमा देशमा स्थानिय शासनले प्रारम्भ गरेको मानकका रुपमा आफ्नो पहिचान स्थापित गरेको भन्ने मैले महसुस गरेको छु । काठमाडौं महानगरपालिले गौरव प्राप्त गरेको २९ औं वर्ष मनाइरहँदा यो देशले यो तीन दशकमा आमूल परिवर्तन र अभ्यास गरिसकेको छ ।’

संघीयता पश्चात देशमा दुई वटा स्थानीय तहका निर्वाचनहरु सम्पन्न भैसकेको स्मरण गर्दै उनले यी निर्वाचनले संघीय लोकतान्त्रीक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

‘२०७९ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले ७ सय ५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ । स्थानीय सरकार मार्फत आ–आफ्ना नगर तथा गाउँपालिकामा सेवा प्रवाह, स्थानीय विकास, सामाजिक सशक्तिकरण, सांस्कृतिक जागरण, स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुभएको छ ।’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले काठमाडौंमहामनगरपालिकाको यो मञ्चबाट मेरो नेतृत्वको सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन, अझ सुदृढ बनाई संविधानको मर्म र भावना अनुरुप स्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यता अनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु ।’

संविधानलाई सुदृढ तुल्याउन कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको दाबी थियो । संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका र देशका अन्य स्थानीय तहलाई सरकार प्रष्ट र दृढ रहेको विश्वास दिलाउँदै उनले भने, ‘काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरमध्येको एक सांस्कृतिक शहर पनि हो । यहाँ विद्यमान विशेषता बोकेका कला, जीवनशैली, खानपानले काठमाडौंलाई विश्वसामु चिनाएको छ ।’

प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार  २ : २७ बजे