भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत



विदुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

महतले भने, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ,सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’

पार्टीकै प्रतिनिधि सत्तामा पुगेको, इमान्दारिताका साथ काम गरिराखेको, परिणाम पनि ल्याइराखेको छ, त्यसलाई अपनत्व लिनुको सट्टा प्रश्नै मात्र गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम भएको उनले दाबि गरे । कांग्रेसले नै गरेको काम कांग्रेसले नै नकार्ने काम भएको उनले स्पष्ट पारे ।

डा. महतले भने, ‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– नेपाली कांग्रेस । समस्या कांग्रेसभित्र पनि छ, आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ ।’ कांग्रेससँग धेरै पुस्ता जोडिएका छन्, लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिन्छ, पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ । हारेको, हराएको अनुभूति हुन्छ । त्यसलाई हामी मनभित्र कसेर राख्छौं । त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति देखियो ।’

पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ ।’बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उहाँले भन्नुभयो, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं ।’

एनसेलबारे सरकारले छानबिन समिति बनाएर छानबिन हुँदै गरेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : पुस २, २०८० सोमबार  ७ : ३६ बजे