काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशमा छन्। बिहीबार विराटनगर पुगेका उनको आजको दिन कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी स् विशेष रूपान्तरण अभियान’ अन्तरगत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा जनसभाको आयोजना गरेको छ। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभालाई सम्बोधन गर्न मिक्लाजुङ पुग्दा कोशी प्रदेशका सांसद र मन्त्री साथमा ल्याए प्रधानमन्त्रीको विरोध गर्ने पहिचानवादीले चेतावनी दिएका छन्। कोशी नामाकरण गरेपछि असन्तुष्ट रहेको पक्षले विभिन्न ठाउँमा आन्दोलन गर्दै आएको छ। प्रदेश मन्त्री र सांसदलाई निषेध गरेको छ।
प्रधानमन्त्री प्रचण्डले आजै बिहान १० बजे सुनसरीको इनरुवामा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गर्नेछन्। उनी आजै साँझ काठमाडौं फर्किने छन्।














