नेपालीलाई रसिया र युक्रेनको सेनामा कसले पुर्याउँदैछ ? महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

शनिबार कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ऐन कानुन बन्दै गर्दा रसिया र युक्रेनको सेनामा नेपाली सेनालाई कसले गैरकानुनी रुपमा पुर्याउने कर्म गरिरहेको छ ? तिनको लास मात्र गनेर बसेर सरकारको कर्तव्य पूरा हुँदैन । गैरकानुनी रुपमा नेपाली सेनालाई सामेल गराउने काम गरिएको छ । पठाउनेलाई थुन्ने र कारबाही गर्ने काम राज्यले गर्नुपर्छ ।’

उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति र गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकको नियुक्ति भागबन्डाको आधारमा हुन नहुने धारणा राखे । सही ढङ्गको नेतृत्व सही ढङ्गबाट आउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : पुस ७, २०८० शनिबार  ३ : २० बजे