अरु नेता प्रवास गए, किसुनजी नेपाली माटोबाटै पञ्चायतबिरुद्ध लड्नुभयोः उपसभापति खड्का



पौष ८, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व। नेता कृष्णप्रसाद भट्टराईको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायतको बिरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको भने । खड्काले स्व। नेता बिपी कोईराला लगायतका नेताहरु पञ्चायतबिरुद्धको आन्दोलनका लागि प्रवासमा गएपनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताए ।

उनले भने, ‘नेता श्रद्धेय किसुनजी जसले पञ्चायतको बिरुद्धको आन्दोलनलाई पनि, लोकतन्त्रको पुनःस्थापनाका लागि पनि नेपाली माटोमै बसेर जननायक बिपी कोईराला लगायतका नेताहरु प्रवासमा जानुभयो, त्यहाँबाट पनि संघर्ष गर्नुभयो त्यो एउटा पाटो पनि किसुनजीको विशेष छ । उहाँले नेपाल नछोडिकन नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर संघर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दाअघिका नेताहरुलाई अगुवाई गर्दै हिँड्नुभयो । हामीले पार्टी र सरकार सञ्चालनमा उहाँले देखाएका बाटोहरु, उहाँको निष्ठाको कुरा गर्छौं, जीवन जगतको कुरा गर्छौं, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : पुस ८, २०८० आईतबार  ९ : २७ बजे