राजनीतिले देशमा बसुँबसुँ जस्तो पारेन,छोडौंछोडौं जस्तो बनायो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



पौष ८, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित ‘पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

उनले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरु कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क गर्दै देशमा राजनीतिले समस्याको समाधान दिन नसकिरहेको उल्लेख गरे । देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरु विदेशिने क्रम बढीरहेको भन्दै उनले साहित्यकारहरुले आफ्नो सृजनाको भरपुर लाभ लिन पाउनुपर्ने भने ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘साहित्यकारहरुलाई गरिव बनाएर, सृजनशील समुदायलाई गरिव बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर । मलाई के लाग्छ भने राजनीतिले समाधान दिइराखेको छैन । राजनीति जर्जर छ । उत्पादनहीन छ । यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा हुन त राजनीतिज्ञहरु यहाँ हुनुहुन्छ मलाई माफ गर्नुहोला । तर मैले भन्नैपर्ने भएर भनेको हो । राजनीति जर्जर भएको छ । यसले निकास दिएको छैन । यसले समाधान दिइराखेको छैन । यसले प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन । देशमा बसुँबसुँ जस्तो पारेको पनि छैन । देश छोडौंछोडौं जस्तो बनाएको छ । भागौँभागौँ जस्तो बनाएको छ । हामी आफैँलाई फकाएर, लुकाएर के खोज्न जान्छौं बाहिर रु थाहा छैन । यो पनि एउटा कथ्य विषय होला । त्यसो हुनाले साहित्यकारहरुले जहाँ, जुन देशमा गरिवी भोग्छ, अपमान भोग्छ । उपेक्षा भोग्छ । र, जर्जर क्षेत्र, अनुत्पादक क्षेत्र, त्यसलाई अरु धेरै नाम नदिऊँ । म त्यसको धेरै अपमान गर्न चाहन्न । तर त्यो क्षेत्र महिमामण्डित छ । त्यो स्वाधिन छ । त्यो सम्पन्न छ । त्यो वैभवशाली छ । त्यो आकर्षक छ । त्यस्तो भएपछि यो देशको अवस्था यस्तो नभएर कस्तो हुन्छ रु यस्तै त हुन्छ नि । यस्तो परिस्थिति भोगेको समाजको नियमित यस्तै त हुन्छ नि । त्यसैले हामी अलिकति पनि सचेतना भएकाहरुले भन्ने बेला हो–साहित्यकाहरु सम्मानित हुनुपर्छ । साहित्यकारहरुले आफ्नो सृष्टिको, सृजनाको भरपुर लाभ लिन पाउनुपर्छ । हामीले बजारीकरण ग¥यौ त्यही साहित्य, जो लाभदायक छ । बजारीकरण जसले ग¥यो, त्यसलाई लाभ त भयो होला । तर स्रष्टाले के भेट्टाउँछ मलाई थाहा छैन ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे । मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको हो । त्यस अवसरमा बाह्रखरी मिडियाको पाँचौ वार्षिक संस्करणका संग्रह ‘उत्कृष्ट कथा–२०८०’ पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : पुस ८, २०८० आईतबार  ९ : ३९ बजे