काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले आफ्नो कार्यशैली बद्लेर काम गर्ने बताएका छन् । आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकीको चिन्तामा आफू रहेको भन्दै अब सरकारले कार्यशैली बदलेर काम गर्ने बताएका हुन् ।
दाहालले आफूले जिम्मेवारी पूरा गर्न नसक्ने स्थिति आए पद ओगटेर नबस्ने पनि बताएका छन् । मंगलबार कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका उनले कार्यसम्पादनमा खरो उत्रन नसके पद ओगटीरहन नहुने बताए ।
उनले काम गरेर देखाउन नसक्ने मातहतका सबैलाई आफूले माफ नगर्ने र काम गरेर देखाउनैपर्ने दबाबमा सरकार रहेको बताए । दाहालले भने, ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं ।’
उनले थपे, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’














