बालकुमारी प्रर्दशन : दुई जनाको ज्यान गयो



काठमाडौं । ललितपुरको बालकुमारीमा आज भएको प्रर्दशनका क्रममा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, प्रर्दशनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने ‘घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा र अर्का एक जनाको पाटन अस्पतालमा निधन भएको हो । ’ त्यस्तै किष्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले शुक्रबार मध्यान्न १२ः४० बजे अचेत अवस्थामा अस्पताल पु¥याइएका जुम्लाका २३ वर्षिय सुजन राउतको मृत्यु भएको पुष्टि गरेका हुन् । उनी भक्तपुर बस्दै आएका थिए ।

अस्पतालले उनलाई तत्काल सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएपछि दिउसो १ः१७ मा मृत घोषणा गरिएको उनले बताए ।मृतकको छातिमा निलो डाम देखिएको र पोस्ट मार्टमबाट मात्रै मृत्यूको कारण खुल्ने अस्पतालले जनाएको छ ।

अहिले अस्पतालमा स्थानीय प्रशासन, प्रहरी तथा मृतकका आफन्तहरु पुगेका छन् । त्यस्तै पाटन अस्पतालमा उपचाररत विरेन्द्र शाहको निधन भएको हो । आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार  ४ : ३२ बजे