१३ पुस, काठमाडौं । शुक्रबार बालकुमारीमा भएको घटनाको छानविन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जानका लागि परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दा दुई युवाको ज्यान गएपछि घटनाको छानविन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको हो ।
‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’,कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि कांग्रेसले अपिल गरेको छ ।
‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ’,कांग्रेसको विज्ञप्तिमा थप भनिएको छ ।
शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसले अपिल गरेको छ ।














