काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका पक्षमा बोल्दा आफू अनियन्त्रित हुनु कमजोरी भएको बताएका छन् । आफ्ना विभिन्न सन्दर्भ संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को मंगलबार राजधानीमा भएको लोकर्पण कार्यक्रममा उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।
आफूले निरन्तर संसदमा बोल्दा लोकतन्त्र र जनताको पक्षमा बोलेकोे भनाइ उनको छ । ओलीले संसदमा बोल्दा वा आफ्नो भाषण गर्दाका समय विचार उत्तेजक भए पनि आफूले लोकतन्त्र र जनताको पक्षमा बोल्ने क्रममा अनियन्त्रित हुने गरेको स्वीकारे । तर, आफूले निरन्तर संसदमा बोल्दा लोकतन्त्र र जनताको पक्षमा बोलेकोे भनाइ उनको छ ।
पूर्ववक्ताले उनीप्रति ‘अनकन्ट्रोल मिसाइल’ जस्तै भाषण गर्ने व्यक्ति जस्तो लाग्छ भनेर गरेको टिप्पणीप्रति ओलीले भने, ‘दाहालजीले मलाई अनकन्ट्रोल मिसाइल भनेजस्तै मैले ड्याङड्याङ मिसाइल हान्दिने हो, त्यस पाराले बोलेँ । तर, यसको अर्थ सावधानीको कमी हो मेरो विचारमा त्रुटि होइन । मैले ठिक ठाउँमा ताकेर मिसाइल हानेको छु । तर, एउटा हान्दा पुग्ने ठाउँमा पाँच सातवटा हानेँ ।’
उनले विभिन्न कालखण्डमा अविचलित रुपमा अत्यन्तै निष्ठापूर्वक देश, जनता र सुशासनको पक्षमा राजनीति गर्दै आएको दाबी गर्दै उनले त्यही धारलाई निरन्तरता दिने बताए ।
‘मैले राजनीति गर्दादेखि अहिलेसम्म अत्यन्तै निष्ठाको साथ गरेको छु र एक धारमा मेरो विचारहरुको प्रवाह भएको छ । चाहे त्यो ४८ साल होस्, ५८ साल होस्, ६८ होस्, ७८ होस् । चाहे आगामी दिनमा होस् । त्यो एउटै धारमा मेरो राजनीति गएको छ । त्यो देश, जनता र सुशासनप्रति निष्ठाको धारमा गएको छ,’ ओलीले भने ।आफ्ना लागि देश र जनताभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै उनले राजनीतिभन्दा माथि देशको हित पार्नेगरी नीति बनाउनुपर्नेमा जोड दिए ।
उनले संसद र बाहिर जहाँ बोले पनि आफूलाई माथि पार्न नभएर देश र जनतालाई माथि पार्न बोलेको चर्चा गरे । उनले आफू मतभारमा नअल्झिएको जिकीर गर्दै उनले भने, ‘म कुनै मतभारमा अल्झिएको छैन । मतभारभन्दा ठूलो कुरा देश हो जनता हो । देश र जनताका हितका निम्ति नीतिहरु बन्नुपर्दछ । नीतिका कारण देश र जनताका हितमा बोल्न सकिँदैन भन्ने हुँदैन । देशको हित जेसुकै होस् पहिले आफ्ना नीति पुष्टि गर्ने भनेर गरेका कामहरु मूर्खतापूर्ण हुने गर्दछन्,’ उनले भने, ‘त्यस्तो कुराले आफ्ना कुरा माथि पर्ने काम हुन्छ तर, देश माथि पर्दैन तल पर्छ । मैले भन्ने गरेको छु, आफ्ना कुरा माथि पर्ने काम नगरौं, देशको हितलाई माथि पर्ने काम गरौं, जनतालाई माथि पार्न तर्क गरौं ।’लोकार्पण गरिएको कृतिमा ओलीले आजसम्म संसदमा बोलेका विषयवस्तुलाई संगृहीत गरिएको छ ।














