एमालेले माग्यो ल्हारक्याल लामासहित तीन मन्त्रीको राजीनामा



काठमाडौं । नेकपा एमालेले तीनजना मन्त्रीसहित लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किँराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधि सभाको विहीबारको बैठकमा विशेष समय लिएर बोलेका एमालेका सांसद रघुजी पन्तले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताए ।

उनले त्यसमा प्रधामनन्त्री नै सरिक भएर लामाले गरेको काममा साथ दिएको भन्दै प्रश्न गरे । पन्तले भने, ‘पर्यटनमन्त्रीले सिफारिस गरेको उहाँले नियुक्त गरेको ल्यारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्षको हैसियतमा लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारमाध्यमहरु र लेखा समितिले समेत अनुपयुक्त र कानुन विपरित ठहर्याउँछन र उपाध्यक्षले सबै फिर्ता, लिनुहुन्छ । त्यस्ताको लहलहैमा लागेर प्रधानमन्त्री कार्यक्रम उद्घाटन गर्न जानुहुन्छ । यो के को तागतले हो ?’

अख्तियारले बयान लिन बोलाइएका स्वास्थ्यमन्त्री र बालकुमारी घटनामा दोषी पाइएका मन्त्री ज्वालालाई समेत कारबाही गर्न नसकेको सरकारमा प्रधानमन्त्रीले नैतिकता र सुशासनको भाषण गरेर हिँड्न नसुहाउने बताएका पन्तले पर्यटन मन्त्री र लामालाई हटाउन माग गरे ।

प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार  १२ : २५ बजे