विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं। १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।
मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।
आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।
यसैबीच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ ।
आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार जंगलबाट सुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो । आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन् ।
यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चारवटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।
आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ । नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ ।










