काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ । नेपाल प्रहरी केन्द्र, रुपन्देही र कपिलबस्तु प्रहरीको समन्वयमा महरालाई त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालय लाजिम्पाट लगिएको छ ।
प्रहरी स्रोतका अनुसार महरालाई थप अनुसन्धान गर्न सीआईबी पठाइएको हो । महरा भैरहवा हुँदै गृहनगर दाङ हिँडेका थिए । उनी रोल्पामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने योजनामा पनि थिए । तर प्रहरीको निगरानीमा रहेका महरा रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीबाट काठमाडौं फर्काएको थियो ।
पूर्वसभामुख समेत रहेका महरालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकसँग पुष्टि गरेका थिए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।
६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो।
सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । महरा यसअघि सभामुख हुँदा पनि संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।














