नेपालले गुजरातलाई ८ विकेटले हरायो



काठमाडौं– त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपालले भारतको स्टेट टीम गुजरातलाई ८ विकेटले हराएको छ ।

आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे ।

त्यस्तै, अनिल साहले ३२ रन, कुशल भुर्तेलले १७ रन र आशिफ सेखले १६ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो ।

गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे ।

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट हात पारे ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ९ : ०९ बजे