चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर



काठमाडौं (चितवन), ३० चैत शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उहाँ इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्नुहुन्छ । धेरै वर्षसम्म उहाँलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो ।

युवा इन्जिनियर सुनिल परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हुन् ।

शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए । उनले भने, “नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ ।”

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला ९ल्याब० सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् ।

नौ वर्षदेखि ह्विलचियर निर्माण र मर्मतको काम गर्नुभएका सुनिल परियार नेपालको वातावरणमैत्री ह्विलचियर निर्माण अभियानमा हुनुहुन्छ । विद्यार्थीलाई पनि ह्विलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उनले बताए ।

“विभिन्न डिजाइनका ह्विलचियरबारे अध्ययन गरेर अपाङ्गता भएका व्यक्ति, अस्पताल र सङ्घसंस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ”, उनले भने, “ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्विलचियर उत्पादन गर्छ ।” सबै अपाङ्गता भएका नागरिकलाई सरकारले निःशुल्क ह्विलचियर उपलब्ध गराउनुपर्ने उहाँको जोड छ ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताए । केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्विलचियर निर्माण गरिरहेको बताए । दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इञ्जुरीका बिरामीलाई ह्विलचियरको आवश्यकतापर्ने केसीको भनाइ छ ।

उनले भने, “ह्विलचियर नपाएमा स्पाइनलकर्ड इञ्जुरीको बिरामी शययमा नै हुन्छ । शरीरमा रक्त प्रवाह राम्रो हुँदैन ।” उनले अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्विलचियर उत्पादनको काममा लागेको बताए ।

इञ्जिनियर सुनिलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्विलचियर उत्पादन सुरु गर्नुभएको हो । उनले ह्विलचियरबारे जनचेतनाान कमी र ह्विलचियर मैत्री वातावरण नरहेकोे बताए ।

“ह्विलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ”, उनले भने, “अपाङ्गता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्विलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ ।”

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराइले बताए । उनले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार  १ : ४९ बजे