काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काम गर्ने क्रममा संयमता गुमाउँदै गएको आरोप लगाएको छ ।
महानगर र सडक विभागको विषयमा दोष र गाली जति पार्टी अध्यक्ष केपी शर्मा ओलीले किन खानुपर्ने भन्ने प्रश्न एमालेको छ ।मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले चुनाव जित्ने बित्तिकै मेयर बालेनलाई आफ्नो पार्टी अध्यक्ष ओलीले तबला उपहार दिएर त्यसको धुनमा काम गर्न अनुरोध गरेको बताए ।
तबलाको अर्थ करुणा प्रेम संयमता भएको भन्दै उनले भने, “तर, काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै जानुभएको छ ।”हामीले काठमाडौँका बाटा चौडा बनायौँ, केशव स्थापित नै हुनुहुन्थ्यो, माइतीघर मण्डला, तीनकुने लगायतका ठाउँहरूलाई विस्तार गर्न हामीले भूमिका खेल्यौँ ।
पछिल्लो पटक विद्यासुन्दर शाक्य आएपछि काठमाडौँको पुनर्निर्माणमा उल्लेख्य भूमिका खेल्यौँ । रानीपोखरी, कमलपोखरी बनायौँ, दरबार हाइस्कूल बनायौँ । दरबार स्क्वायरको पुनर्निर्माणको काम गर्यौै ।
यी तमाम कामहरू नेकपा एमालेको नेतृत्वमा भएको छ ।काठमाडौँको सभ्यताको केन्द्रमा हामी त्यस्तै जनप्रतिनिधि चाहन्छौँ, हामी उनलाई सहयोग गर्न चाहन्छौँ । उनले चुनाव जित्ने बित्तिकै हाम्रो अध्यक्षले उनिलाई उपहार दिएको हो, सँगै मिलेर जाऊँ भनएको हो ।
हाम्रो पार्टीबाट जित्नुभएका उपप्रमुख र वडाध्यक्षहरूलाई हामीले निर्देशन दिएका हौँ मेयरसँग मिलेर काम गर्नुस् भनेर निर्देशन दिएका हौँ । तर आज उनि कहाँको रिस, बिरालोले कोहीसँग रिस उठ्यो भने खाँबो चिथोर्न भनेजस्तै कहाँको रिस एमाले अध्यक्षमाथि ल्याएर पोख्दै हुनुहुन्छ ? हामीलाई धेरै चिन्ता छ । जे जे प्रश्नहरू उठेका छन्, त्यसमा एमाले छानबिनका लागि तयार छ ।
ओली जेल बसेको कुरा उडाएको भन्दै उनले भने, “यदि यस ढंगले भण्डाफोर गर्ने भए आफ्नै आमाको अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ । यी नेतालाई बदनाम गर्नु आफ्नै आमाको अस्मिता नग्याउनु हो ।”
उनले बालेनलाई आफ्नै आमाको अस्मिता नङ्ग्याउँदै हुनुहुन्छ भने यो समाजलाई कतातर्फ लादै हुनुहुन्छ भन्ने प्रश्न उनले गरे । कानुनी सिमा र अधिकारभित्र बस्न भन्दै उनले भने, “यो देशको व्यवस्था ल्याउन लडेका एमाले नेताहरूलाई गाली गर्नु भनेको आफैँ आकाशतिर फर्केर थुकेपछि कहाँ झर्छ भन्ने बालेनजीलाई थाहा हुनुपर्छ ।”














