काठमाडौँ । सरकारले काभा महिला राष्ट्रिय भलिबल लिग(२४ मा सहभागिता जनाएका खेलाडीलाई सम्मान गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा १४ जना नेपाली खेलाडीलाई जनही ३ लाखद्वारा सम्मान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यस्तै मुख्य प्रशिक्षकलाई दुई लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको हो।
यस्तै मन्त्रिपरिषदले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा भारत भ्रमण पनि स्वीकृत गरेको छ।
परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने निर्णय पनि गरेको पनि जानकारी दिए।
मन्त्री गुरुङले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको जानकारी दिए।
यस्तै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय भएको जानकारी दिए।















