प्रतिनिधिसभा बैठक :आज प्रधानमन्त्री केपी ओलीसँग सांसदहरुको प्रश्नोत्तर



काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओली प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुनेछन्। उनले सदनमा उठेका प्रश्नहरुको जवाफ दिने आजको सदनको कार्यसूची छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्।


साथै सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ।


धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार  ९ : ३९ बजे