काठमाडौं, २९ असोज ।काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने दाबी गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी ०५८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको मारवाडी सेवा समितिले १९९७ सालदेखि भोग चलन गरेको भनेर मोहियानी हक लाग्ने दाबी गर्न नमिल्ने धारणा सार्वजनिक गरेको हो ।
कोषले गौशला धर्मशालाको जग्गामा मारवाडी समुदायले आँखा लगाएको आरोप समेत लगाएको छ ।
कोषले पशुपतिनाथमा दुध चढाउने लगायतका विषय जोडेर पशुपतिनाथको जग्गा र सम्पत्तिमा मारवाडी सेवा समिति नेपालले आँखा लगाएको बताइएको हो ।
‘भगवान पशुपतिनाथको नाममा भएको जग्गा र जग्गामा रहेको सम्पत्तिमा, पशुपतिनाथमा दुध चढाउने लगायतका विषय जोडेर गलत नियतले अतिक्रमण गर्ने कुरा भएको छ । त्यो जग्गामा मारवाडी समुदायको तर्फबाट आँखा लगाइएको विषय जगजाहेर छ,’– कोषले भनेको छ ।
पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समिति नेपालको मोहियानी हक नपुग्ने बताइएको छ । मोहियानी हक दाबी गर्नका लागि मारवारी सेवा समितिसँग कुनै आधार नरहेको बताइएको छ ।
कोषले भगवान पशुपतिनाथको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताएको छ । पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने कोषले जनाएको छ ।
कोषले पशुपति धर्मशालाको सम्बन्धमा कानुनी प्रधानअनुसार नै अगाडि बढिरहेको भन्दे आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ ।














