काठमाडौँ । आकर्षक कमाइ हुने कामको प्रलोभन देखाएर म्यानमार पुर्याइएका ५ नेपालीको उद्धार गरिएको छ।
उनीहरूलाई थाइल्यान्ड हुँदै नेपाल फर्काइएको बैंककस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो।
‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।
थाइल्याण्ड र म्यानमारलगायतका देशमा पुर्याएर ठगी गर्ने क्रम बढेको भन्दै परराष्ट्र मन्त्रालयले सचेत रहन आग्रह गरेको छ।
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा भिजिट भिसामा गएर काममा नलाग्न पनि परराष्ट्रको अनुरोध छ।
