सभामुखको सचिवालयको आपत्ति : सुमना र सोविताले मिडियाबाट प्रेसर गराउन खोजे



काठमाडौँ – सभामुख देवराज घिमिरेको सचिवालयले रास्वपा सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमले मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गराउन खोजेको आरोप लगाएको छ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सामाजिक सञ्जालमा आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिने भए पनि मिडिया र सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको आरोप लगाएका हुन् ।

अधिकारीले सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानुन, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने बताएका छन् ।

प्रतिक्रियामा अधिकारीले सांसदद्वय श्रेष्ठ र गौतमले आफूलाई मात्र केन्द्रमा राख्ने तर अरुको दृष्टिकोणलाई बुझ्न नसको आरोप लगाएका छन् । उनीहरूले आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहार देखाएको अधिकारीको भनाइ छ ।

अधिकारीले रास्वपा सांसद गौतमले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेपछि आकस्मिक समयमा बोल्न समय मागेकाले सभामुख घिमिरेले विधेयक पास भइसकेपछि आकस्मिक विषय हुन नसक्ने बताएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग्नुभएको थियो । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताउनुभएको थियो । विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उहाँले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग्नुभएको थियो । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्नुहुने भन्नुभएको थियो ।’

त्यस्तै रास्वपाकै सांसद श्रेष्ठले संसद बैठकको जनाउँ घन्टी बजेपछि भारतीय विद्यार्थीको समस्यामा परेको भन्दै बोल्न समय मागेकाले नपाएको अधिकारीले उल्लेख गरेका छन् । श्रेष्ठले उठाउन खोजेको विषयमा रास्वपाको दलीय अनुरोध पनि नआएको अधिकारीले बताएका छन् ।

अधिकारीले लेखेका छन्, ‘फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आउनुभयो । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो । जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने ९माननीय अशोक चौधरीतर्फ देखाउँदै० उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो । रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै हुनुहुन्थ्यो । दलीय अनुरोध पनि आएको होइन,’ अधिकारीले लेखेका छन् ।

संसद्मा आकस्मिक समय माग गरेर बोल्न नदिएको सांसद श्रेष्ठले संसद् भवनबाहिर पत्रकारहरूलाई बताएकी थिइन्। भारतमा नेपाली युवतीले आत्महत्या गरेको विषयमा आफूले संसद्मा बोल्न माग गर्दा पनि भोलिलाई मात्र समय दिइएको उनले गुनासो गरेकी थिइन्।

प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार  १२ : ०९ बजे