सोम दियाली, सर्लाही –
भदौ १३- कुशे औंषी एवं बुवाको मुख हेर्ने दिन आज सर्लाहीमा ३६ जना वृद्धवद्धालाई दोसल्ला ओढाई सम्मान गरिएको छ । हरेक वर्ष भाद्र कृष्ण औषीका दिन मननाईने पर्वका अवसरमा जिल्लाको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्मभुवनेरी नमूना वृद्धाआश्रममा आश्रित साहाराविहिन वृद्ध बुवा आमालाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
उनीहरुलाई मिष्ठान्न भोजन समेत गराइएको छ । आश्रमकी अध्यक्ष भवानी कोईरालाको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य साँसद प्रमोद साहको प्रमुख आतिथ्यतामा उनीहरुलाई मिष्ठान्न भोजन सहित सम्मान गरिएको आश्रमले जनाएकोछ । सो अवसरमा वोल्दै प्रमुख अतिथी साहले वृद्धआश्रम व्यवस्थापनमा आफुले सकेको पहल गर्ने बताउनु भयो । उहाँले वृद्धाआश्रम परिसरमा निर्माण भई रहेको निर्माण कार्य सम्पन्न गर्नका लागि आफुले सकेको पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथी रहनु भएका काँग्रेस नेता पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले समेत वृद्धवृद्धाको सम्मान हरेक सन्तानले गर्नै पर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ताको नाममा ललीपप देखाएको आरोप लगाउनु भयो । उहाँले सरकारले वृद्धवृद्धाको सम्मानमा अझै महत्वपूर्ण कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, प्रहरी प्रमुख गोपालचन्द्र भट्टराई, रणशेर गण पाँचकुमारी व्यारेकका गणपति मिनराज तिवारी, नेपाली काँग्रेस लालबन्दीका नगरसभापति प्रशान्त आचार्य लगायतको उपस्थिती रहेको आश्रमकी अध्यक्ष भवानी कोईरालाले बताउनु भयो । प्रजातन्त्र सेनानी वासुदेवशरण कोईरालाले २०५५ सालमा स्थापना गर्नु भएको आश्रममा अहिले सुस्तमनस्थितीका सहित ४६ जना वृद्धवृद्धाले आश्रय लिएर बसेका छन् ।