सर्लाही-
सर्लाहीमा स्थानीय सर्वसाधारणलाई मिटरब्याजमा पैसा लगाई ठगी गर्ने श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई प्रहरीले पक्राउ गरेको छ।
मलंगवा नगरपालिका-१० स्थित उनको घर नजिकैबाट साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले परदेशीलाई मलंगवाबाट पक्राउ गरेको हो । परदेशीले ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले बताए ।
नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई पक्राउ गरिएको हो।
उनलाई ठगी मुद्दामा कारबाही चलाउने तयारी प्रहरीले गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदायका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएका थिए।
पक्राउ परेका परदेशीले ऋण लिने धेरैलाई झुक्याएर १० गुणासम्म बढीकाे कागज गराएर जबर्जस्ती सावा ब्याज असुल्ने गरेको खुलेको छ ।










