संविधान दिवसमा पूर्व सांसद नरेन्द्र साहद्वारा सर्लाहीमा प्रहरीलाई ६० थान सुरक्षा साईकल वितरण



सोम दियाली, सर्लाही-

असोज ३ , चौथो संविधान दिवसको अवसरमा पूर्व साँसद नरेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सहित सर्लाही क्षेत्र नम्बर ३ का सवै प्रहरी यूनिटलाई सुरक्षा साईकल वितरण गरेका छन् ।

देश र जनताको सुरक्षामा नेपाल प्रहरीको भूमिका अग्रणी रहेको भन्दै सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गतका हरिवन, बरहथवा, हिरापुर सहित ४ ओटा ईलाका र सवै प्रहरी चौकीलाई ६० थान सुरक्षा साईकल प्रदान गरेका हुन् । पूर्व साँसद साहले सुगम भएर पनि आफ्नो क्षेत्रका प्रहरीलाई सवारी साधनको अभावमा सुरक्षामा खटिन समस्या भएको महसुस गर्दै एउटा सचेत नागरीक, पूर्व साँसद र व्यवसायीको नाताले प्रहरीलाई साईकल प्रदान गरेको बताए ।

तराई सुगम छ तर सवारी साधनको अभावमा प्रहरीलाई सुरक्षामा खटिन समस्या छ, त्यसमाथि तराईको क्षेत्रमा बढी भन्दा बढी अपराधिक घट्ना हुने गर्छ, प्रहरीलाई समयमै घट्ना स्थलमा पुग्न सजिलो होस भनेर मैले आफ्नो क्षेत्रको सवै प्रहरी यूनिटलाई साईकल वितरण गरेको हुँ । केही वर्ष अघि आफ्नो क्षेत्रको प्रहरीको लागि आफुले पठाएको गाडी अन्यत्रै लगिएको स्मरण गर्दै समाजसेवी पूर्व साँसद साहले अहिले आफुले प्रदान गरेको साईकल पनि दुरुपयोग नहुने विश्वास व्यक्त गरे । २०७४ सालको संसदीय निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेको पूर्व साँसद संविधान सभा सदस्य साहले भने, मैले दिएको साईकलको दुरुपयोग नहुने कुरामा विश्वस्त छु । आफु राजनीतिक व्यक्ति र व्यवसायी मात्रै नभई सर्लाही क्षेत्र नम्बर ३ को समाजसेवी व्यक्ति भएको नाताले पनि एक वर्ष अघि नै सुरक्षा निकायको लागि साईकल प्रदान गर्ने चाहाना अनुरुप साईकल वितरण गरेको बताए । आफुले प्रदान गरेको साईकललाई साईकल जस्तो सम्झेर सुरक्षामा खटिएका सुरक्षाकर्मीले मात्रै प्रयोग गर्न र नागरिकलाई बिना भेदभाव सुरक्षा प्रदान गर्न प्रहरीलाई उनले आग्रह गरे ।

नागरीकको शान्ति सुरक्षामा कटिवद्ध प्रहरीलाई साईकल प्रदान गरी पूर्व साँसद साहले लगाएको गुण कहिल्यै विर्सन नसक्ने सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । कहिले ईन्धनको अभाब त कहिले पुराना पार्ट्पुर्जाका कारण कुनै घट्ना घट्दा समयमै पुग्न नसकेको र नागरीकलाई भने जस्तो सुरक्षाको प्रत्याभुती दिन नसकेको अवस्थामा पूर्व साँसद साहले प्रहरीलाई साईकल प्रदान गरी सराहनीय काम गरेको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले बताए ।

बरहथवा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामकैलाश मुखियाको अध्यक्षतामा ईलाका प्रहरी कार्यालय हिरापुरमै भएको कार्यक्रमका अवसरमा त्यहाँ निर्मित दुर्गा मन्दिरको समेत पुजाआजा सहित रिवन काटेर समुदघाटन गरिएको थियो । साँसद साहले प्रहरीलाई दिएको साईकलमा साईरन र लाईट समेत जडान गरिएका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ८ : २४ बजे