सन्ध्याकालीन सेवा सुरु भएपछि सदर चिडियाखानामा बढे पर्यटक



काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।

चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

यस अवधिको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब रु २५ लाख बढी आम्दानी भएको उनले बताए । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई रु २००, विद्यार्थीलाई रु १३५, ज्येष्ठ नागरिकलाई रु १००, बालबालिकालाई रु ७५, ‘सार्क’ मुलुकका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ । चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् ।

यसैगरी, अवलोकनकर्ताको आकर्षणका लागि वन्यजन्तुको उचित व्यवस्थापनका साथै हरियाली प्रवद्र्धन र सरसफाइ बढाइएको छ ।रासस

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ५ : ५० बजे