बालेनले बोलाए बैठक,प्रमुख प्रशासकीय अधिकृतलाई छैन खबर



काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ‘बाइपास’ गर्दै वजेटको तयारी गरेपछि महानगरमा विवादको श्रृंखला लम्विने भएको छ। कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुले निरन्तर दबाब दिएपछि काठमाडौं महानगरपालिकाका मेयर शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्ने तयारी गरेको महानगर स्रोतले जानकारी दियो।

स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी वाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने उल्लेख छ । तर, मेयर शाह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो। ‘सरोज सरलाई थाहै नदिइ बैठक तय गरिएको खबर आएको छ’ महानगर स्रोतले भन्यो’, असार ४ गते ११ बजे मेयरकै बैठक कक्षमा बैठक बोलाएको बुझिएको छ।’

कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत टार्दै आएका मेयर शाहले समितिका सदस्य सचिव गुरागाईँ विना नै बैठक राख्ने कसरत गरेपछि उक्त बैठक पनि अन्योलमा पर्ने निश्चित भएको छ।

समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरु नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की रहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करीब ७ महिनादेखि बस्न सकेको छैन। नगरसभाको बैठक पनि ६ महिनामा अनिवार्य बस्नुपर्ने हुन्छ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ७ : २५ बजे