काठमाडौं । सरकारले यसवर्ष धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता भन्ने नारासहित असार १५ गते २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा धान रोपाइँलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो । सरकारले २०६१ साल देखि नै हरेक वर्ष धान दिवस मनाउँदै आएको छ ।
जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ़दो नकरात्मक असरलाई न्यूनिकरण गदै धान वालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेतीमार्फत उत्पादन एवं उत्पादकत्व बढ़ाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ, मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार वर्षे र चैते दुबै गरि नेपालमा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
चालु आ।व। २०८१/८२ मा नेपालमा कुल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो । गत आ.व. २०८०/८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाईँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आ.व. भन्दा ४.०४ प्रतिशतले बढ़ोत्तरी भएको थियो ।