खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु



रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।

बुधवार साथीहरूसँग खोलामा नुहाउन गएका बुढाथोकी डुबेर बेपत्ता भएका थिए ।

उनका सबै साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी खोलाबाट ननिस्किएपछि खोजी थालिएको थियो । खोजी गर्ने क्रममा खिम्ती खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बुढाथोकी हिमाल पावर हाइड्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । खिम्ती खोलाको नामाडी र बेताली खोला संगमस्थलमा जमेको गहिरो दहमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

शवलाई पोस्टमार्टमका लागि प्रहरीले मन्थली ल्याइएको छ । शव मन्थली नगर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : असार १९, २०८२ बिहीबार  १० : ०१ बजे