सुर्खेत । २० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
कर्णाली प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा सभामुख नन्दा गुरुङले सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरिन् ।
असार १ गते मध्यराती मन्त्री शाहले कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ६६ लाख ५५ हजारको बजेट पेश गरेका थिए । प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बजेट विभेदकारी भएको भन्दै पटक पटक प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो । बजेटको छलफलमा सत्ता साँझेदार नेपाली काँग्रेसका सांसदहरुले पनि विरोध जनाएका थिए ।
शुक्रबार दिनको एक बजे प्रदेश सभा बोलाइएको भए पनि प्रतिपक्षी माओवादी अवरोधका कारण साँझ अवेर मात्र बैठक सुरु भएको थियो । शुक्रबारको बैठकमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनामा विनियोजन गरी कार्यान्वयन गर्ने सहमती पछि बैठक सुचारु भएको थियो ।
शुक्रबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री शाहले जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित विशेष प्रस्ताव पेश गरेका थिए । उक्त बिशेष प्रस्तावमार्फत विपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका सांसद राजकुमार शर्माको गृह जिल्ला रुकुम पश्चिममा विभिन्न योजनामा विनियोजन भएपछि माअेवादी केन्द्र बजेट पारित गर्न सहमत भएको हो ।
उक्त बिशेष प्रस्तावमार्फत ११ करोड ५० लाखको थप योजना रुकुम पश्चिममा विभिन्न सडक निर्माण, सडक स्तरोन्नती, सिँचाई कुलो निर्माण र फलफूलका बिरुवा वितरणमा छुट्याइएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ६६ लाख ५५ हजारको बजेट शुक्रबार कर्णाली प्रदेश सभाबाट पारित भएको छ ।
सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको भन्दा ५ प्रतिशतले बढी हो । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।
कर्णाली सरकारले आगाामी आर्थिक बर्षका लागि चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार (२३.६४ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री शाहले बताए ।
आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम १० अर्ब २७ करोड ३० लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ५६ करोड ४ लाख र सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ प्रदेशको बजेट छ ।
कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ५३ करोड ९७ लाख र बिशेष अनुदानवाफत ४९ करोड ४६ लाख प्राप्त गर्ने अनुमान गरी बजेट बनाएको जनाइएको छ । त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम एक करोड ८७ लाख स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री शाहले बताए । कर्णाली प्रदेश सरकारले कर्णालीको पूर्वाधार बिकास, रोजगारी सिर्जना गरी कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको दावी गरेको छ ।