बागमती प्रदेश स्तरीय खुल्ला तेक्वान्दो असार २६ गतेदेखि



काठमाडौं । चौथो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ आउँदो असार २६ गतेदेखि २८ गतेसम्म काठमाडौमा हुन गइरहेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा जिल्ला समन्वय समिति काठमाडौले तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ, अनुशासित खेलाडी निर्माण गर्नको लागि खेल जगतले ठूलो भूमिका खेल्ने भन्दै अहिले खेललाई सबैले बुझ्न थालेको बताए ।

उनले भने, ‘स्वस्थ, अनुशासित खेलाडी निर्माण गर्नको लागि खेल जगतले ठूलो भूमिका छ । खेलको महत्व सबैले बुझ्नुपर्छ । खेलाडी, कोचहरुदेखि सबैले यो खेलको जगतमा जति काम गर्नुभएको छ त्यो एकदमै राम्रो हुन्छ । नेपाली समाजमा खेलप्रति फरक धारणा विकास हुदैँ गएको देखिन्छ । पहिला खेल भन्ने वित्तिकै परिवारले खेलेर के पाइन्छ भन्ने जस्तो कुरा गर्ने गरेका थिए भने अहिले खेलकोमार्फत राष्ट्रलाई चिनाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नु भएको छ ।’

साथै, उनले खेलाडीहरुलाई यसरी पुरस्कृत गरेर प्रोत्साहन गर्ने जस्तो काम बहुदलीय व्यवस्थाबाट नै आएको भन्दै केही भएन केही भएको छैन् भन्ने कुरा गलत भएको बताए ।

खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिग सञ्चालन गरिएको छ ।

वर्षमा चार पटक आयोजना हुने लिगबाट खेलाडीको वरीयता निर्धारण गरिनेछ । खेलाडीको वरीयता निर्धारणसहित तेक्वान्दो प्रतियोगिता नेपालमा जिल्ला समन्वय समिति काठमाडौले शुरुवात गरेको छ ।

लिग हरेक तीन/तीन महिनामा सञ्चालन गर्दै आइरहेका छौ । जसमा प्रथम वागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ माद्र १ गते र २ गते नागार्जुन कवर्डहल, स्युचाटारमा सम्पन्न भएको थियो, दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१ पुष १९ र २० गते टोखा नगरपालिका वडा नं. ५ समाज भवनमा सम्पन्न भएको थियो ।

तेस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२ बैशाख १७ र १८ गते बुढानीलकण्ठ नगरपालिका वडा नं. ८. गोल्फुटार बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । पहिलो पटक नेपालले तेक्वान्दो खेलमा बरियतासहितको खेलाडी पाउने छ ।

जिल्ला समन्वय समितिको घोषणा कार्यक्रम अनुसार उत्कृष्ट महिला एक तथा पुरुष एकले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक, एकवटा ई–स्कुटर पाउने छन् भने अन्य प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई प्रथम रु. १५ हजार, द्वितिय १० हजार र तृतिय स्थान हासील गर्ने दुईजना लाई ५/५ हजार नगद पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिने छ ।

लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा (४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा (४०–४३, ४३–४६, ४६–४९, ४९–५२ र ५३–५०) केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछन् ।

लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउने छन् ।

हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाण्डौले व्यवस्थापन गर्नेछ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : असार २४, २०८२ मंगलबार  २ : ०२ बजे