करिब २५ अर्बको बजेट ल्याउदै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सिमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ अर्ब बजेटको सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका हुन् ।

चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ । शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।

नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् ।

बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार  २ : २५ बजे