काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को खेलमा नेपालको पोस्टमा उत्तर कोरियाले ११ गोल वर्षाएको छ। नेपालले भने प्रत्युत्तरमा एक गोल पनि नगरी खेलको निर्धारित समय पूरा भएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो।
समूहका सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ। उत्तर कोरिया साविक विजेता हो। उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल खाएको छैन।
छनोटमा नेपालको यो पहिलो हार हो। हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ। नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी र साउदी अरेबियासँग १-० ले विजयी भएको थियो।














