काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाक टिकट, स्मार्ट कार्डहरु, ईमिग्रेशनको सबै डकुमेण्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाईका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका हून् ।
हाल २८ लाख ड्राईभिङ स्मार्ट कार्डहरु छाप्न लागिएको उनले जानकारी दिए ।
उनले यो वर्ष छाप्ने ६४ लाख राहदानी चाँही बाहिरको संस्थालाई दिएको जानकारी दिए। हाल बाहिरको कम्पनीलाई २० लाख राहदानी छाप्न दिएर बाँकी रहेको ४४ लाख पछि छाप्ने प्रश्ताव आफूले परराष्ट्र मन्त्रालयलाई गरेपनि त्यसो हुन नसकेको उनले बताए ।
परराष्ट्र मन्त्रालय एकैपटक छाप्ने भनेपछि अहिले बाहिरी संस्थाले राहदानी छाप्ने काम गरिरहेको उनले जानकारी दिए ।
उनले भने, ‘सुरक्षण मुद्रण केन्द्र म आउँदा बन्द थियो । त्यहाँको सिईओ जेलमा छ, मुद्दा परेर मुद्दा हारेर । मेसिनहरु सबै ल्याएर राखेका छन् । ठूलो प्रिटिङ मेसिन राख्ने ठाउँ नभएपछि अलपत्र भएर बसेको थियो । यो वर्ष छाप्ने ६४ लाख राहदानी चाहीँ बाहिरको संस्थालाई दिएका छौँ । मैले भनेको २० लाख चाहीँ अहिले छोप्नुस्, बाँकी रहेको ४४ लाख पछि छापौँ भनेको परराष्ट्र मन्त्रालयबाट मान्नुभएन, एकैपटक छाप्ने भन्नुभयो । त्यसकारण उनीहरुले अहिले छाप्दैछन् । अर्को सालदेखी बैक नोट बाहेक नेपालका सबै चिजहरु हुलाक टिकटदेखि लिएर स्मार्ट कार्डहरु, ईमिग्रेशनको सबै डकुमेण्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीदेखि लिएर सबै चिजहरु छाप्ने सुरक्षण मुद्रण केन्द्र हामीले तयार गरिरहेका छौँ । अहिले हामी २८ लाख ड्राईभिङ स्मार्ट कार्डहरु छाप्दैछौँ । सुरक्षण मुद्रणसंग जोडिएका सबै चिज छाप्ने काम अब हाम्रो संचार मन्त्रालय अन्र्तगतको सुरक्षण मुद्रण केन्द्रले गर्छ ।’
उनले यो नेपालको लागी ठूलो माइनस्टोनको काम भएको पनि बताए । बैंक नोटको लागी चाँही छुट्टै मेसिन ल्याउनुपर्ने भएकोले त्यो प्रक्रिया पनि छिट्टै शुरु गर्ने उनले बताए । उनले नेपालमा माघ महिनादेखि फाईभजी सेवा कार्यन्वयनमा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दा माघ महिनाभित्र फाईभजी सेवा सञ्चालनमा ल्याउने गरी गरिएको पनि उनले जानकारी दिए । यो वर्ष काठमाडौं र पोखरामा फाईभजी शुरु गर्ने गर्ने र अर्को वर्ष सबै महानगरभित्र फाईभजी सेवा सञ्चालन गर्नेगरि काम अगाडी बढाईएको उनले बताए । यसरी नै देशभर फाईभजी सेवा सञ्चालनमा ल्याउने उनको भनाई छ । – न्युज एजेन्सी नेपाल









