१० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुदाहुदै विधेयकमा २.५ प्रतिशत राख्नुको कारण के हो ? : सांसद भट्टराई



काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा प्रश्तावित छात्रवृत्तिअन्तर्गतको आवाससम्बन्धी व्यवस्थामा आपत्ति जनाएकि छन् ।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले पूर्ण छात्रवृत्तिका सम्बन्धमा विद्यमान कानूनसँग बाँझिने गरी प्रश्ताव गरिएको भन्दै आपत्ति जनाएकि हुन् ।

पूर्ण छात्रवृत्ति २.५ प्रतिशतमा झार्नुको कानूनी र सैद्धान्तिक आधार के हो ? उनको प्रश्न छ । उनले अनिवार्य शिक्षा ऐनमा निजी विद्यालयलाई सेवामुखी रहनुपर्ने व्यवस्था गरिएको स्मरण गराइन् । सो ऐनले सबै निजी विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधानसमेत रहेको उल्लेख गर्दै १० प्रतिशत छात्रवृत्ति कायम हुनुपर्ने उनको धारणा छ ।

उनले भनिन् ‘यो दुई प्रतिशत पाँच प्रतिशत कुन सैद्धान्तिक आधार के हो ? कानूनी आधार के हो ? २०८५ सालसम्म आधारभूत शिक्षा सुनिश्चित गर्ने भनेका छौं । अनिवार्य शिक्षा ऐन गर्न खोजिएको हो र ? त्यो ऐनले १० प्रतिशत छात्रवृत्ति दिने भनेको छ नि । त्यो ऐनमा निजी विद्यालयलाई सेवामुखी हुनुपर्छ भनेको छ । त्यो भनेको नाफा कमाउन पाउँदैन भनेको हो । विद्यमान कानूनले १० प्रतिशत छात्रवृत्ति भनेको छ । भने यसलाई दुई दशमलव पाँच प्रतिशतमा झार्नुको अर्थ के हो ?’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र २, २०८२ सोमबार  ५ : ५९ बजे