काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा मंगलवार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हून् ।
उनले बेला बेलामा दलले आफ्ना सांसदहरुको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । काँग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको बताए । महाअभियोग लगाउन, सरकार बदल्न हस्ताक्षरको काम लाग्ने उनको भनाइ छ ।
उनले भने, ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो ०४८ सालदेखि नै चलेको चलन हो । आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ । काँग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन पयो होला । संयोग हो । हस्ताक्षरहरु विभिन्न काममा प्रयोग हुन्छन् । महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन् ।’
सचिव भट्टराईले संसद भदौभर सञ्चालन हुने पनि जानकारी दिए । —न्युज एजेन्सी नेपाल









