उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको दाबि गरे । मन्त्री सिंहले हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउने काममा सुझावहरु दिन आग्रह गरे । शिक्षा क्षेत्रमा रहेका विकृतिहरु हटाउन जरुरी रहेको उनको भनाइ छ । शिक्षामा लगानी बढाएर शिक्षा क्षेत्रबाटै समाजलाई तिब्र रुपान्तरण गर्नुपर्ने मन्त्री सिंहले बताए ।
उनले भने, ‘संविधान सभाबाट जारी गरेको संविधान जुन छ । त्यो संविधानको भावना र मर्मअनुरुप यो शिक्षामा आउनुपर्ने परिवर्तनहरु हुन्, नीतिहरुमा जुन परिवर्तन ल्याउनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले संसदमा ढिलै भएपनि आएको छ । विद्यालय शिक्षा विधेयकमा राम्रोसँग छलफल गरेर अघि बढ्नुपर्छ । अहिले शिक्षा नै यस्तो माध्यम हो, शिक्षामा रहेका जुन विकृतिहरु छन्, त्यसलाई हटाउनका लागि शिक्षा क्षेत्रमा राम्रो लगानी गर्नुपर्छ । त्यसबाट राम्रो उपलब्धि लिन सकेको खण्डमा समाजलाई तिब्र गतिमा शिक्षाबाट समाजको परिवर्तन गर्न सकिन्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यालय शिक्षा विधेयकमा कुनै कमजोरी हुन नदिन सबैले सचेत भएर लाग्नुपर्ने बताउदैे । संसदबाट धेरै मेहनत गरेर विधेयक ल्याइरहेकोले समाजलाई अहिलेको शिक्षा विधेयकले परिवर्तन गर्ने जिकिर गरे। –न्युज एजेन्सी नेपाल









