राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनबीच भेटवार्ता



नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

शीतल निवासमा भएको भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे छलफल भएको छ ।

राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच आर्थिक सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको बताउँदै यसलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको उल्लेख गरे ।

“नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा लगानीमार्फत आर्थिक-सामाजिक रूपान्तरणमा केन्द्रित छ,” उहाँको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गरेकोमा प्रशंसा गरे। उनले बौद्ध धर्मले दुई देशका जनताबीच गहिरो सम्बन्धको सेतुको रूपमा काम गरेको र लुम्बिनीलाई भियतनामीहरूले पवित्र तीर्थस्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गरे ।

भियतनामकी उपराष्ट्रपति सुआनले नेपालको सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र भियतनामको सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यलाई जोड्दै सन् २०३० अघि नै दुई देशबीच वृहत सम्बन्धको ढाँचा तयार गर्नुपर्ने आवश्यकता औंल्याए उनले संस्कृति, खेलकुद र पर्यटन क्षेत्रमा सहकार्यको सम्भावनालाई जोड दिए ।

उपराष्ट्रपति सुआनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति स्थापना र जलवायु परिवर्तनप्रति देखाएको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताए ।

यो भेटले नेपाल र भियतनामबीच आर्थिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने आधार तय गरेको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८२ सोमबार  १ : ०४ बजे