उखु किसान आन्दोलनलाई बाबुराम भट्टराइको समर्थन



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाएका छन् ।मंगलवार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उनले उखु किसानका मागहरु जायज रहेको भन्दै समर्थन जनाएका हुन् । ।

उनले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे । उनले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरुमाथि अन्याय र ठगी गरेको आरोप लगाए । भट्टराईले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे ।

उनले भने, ‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरुलाई अनुदान दिने कुरा भएको थियो । त्यो पनि किसानहरुको ठूलो आन्दोलनको कारणले हो । त्यो घटाएर ३५ रुपैयाँ पु¥याउने अनि त्यो पनि समयमा नदिने अरे । अनि सरकारले एक्लौटी गर्न मिल्छ ? यो त किसानहरुमाथि बद्मासी र ठगी भएन ? त्यसकारण किसानहरुको यो अभियान जायज छ । तर यसरी तपाईहरु मेहेनत गर्ने किसानहरु यहाँ आएर संघर्ष गर्नु दुःखद् छ । सबै घरपरिवार र वस्तु भएपनि हेर्नुपर्ने हुन्छ । जनतासँग जोडिराख्नुपर्छ । नत्र बिर्सिन्छन् भनेर यहाँ आएको हो । नत्र बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्थे नि । तपाईहरु दरोसँग उभिन आग्रह गर्दछु । किसान एकता महत्वपूर्ण कुरा हो ।’

मधेस प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१÷८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र १०, २०८२ मंगलबार  ३ : २२ बजे