राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना



काभ्रेपलाञ्चोक, १९ असोज-

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन् । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन ।। साथै उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएकी थिइन ।

बडादशैँको आठौँ दिन आज महाअष्टमी पर्वको दिन दूर्गा भवानीको पूजा–अर्चना गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।

साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ ।

प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार  २ : ५९ बजे