संसदीय सुनुवाई समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित



काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानविन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र २०, २०८२ शुक्रबार  ९ : २६ बजे