मंगलबार भएको क्षति बारे अहिलेसमा के के थाहा छ ?



काठमाडौँ। भदौ २३–२४, काठमाडौँ प्रदर्शनको सडक मात्रै होइन, इतिहासको साक्षी पनि बन्यो। जेनजी आन्दोलनले सत्ता मात्रै पल्टाएन सम्तवतस् इतिहासमा ठूलो क्षतिको पनि सामना गर्नुपर्‍यो। सोमबार सरकारी दमनका कारण १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैदेखि जेनजी युवाहरू काठमाडौँका सडकमा जम्मा भए। उनीहरूको आक्रोशको केन्द्रमा परे ठूला नेता, उनीहरूका घर र सार्वजनिक संरचनाहरू।

सिंहदरबार, संसद् भवन, सर्वोच्च र जिल्ला अदालत काठमाडौँ, महान्यायाधीवक्ताको कार्यालय, नेपाल बार एसोसिएसनको कार्यालय, राष्ट्रपति निवास सितलनिवास, प्रधानमन्त्री निवास बालुवाटार र प्रहरी कार्यालयहरू जलाइए। राज्य तीन अंगसहित देशभर सरकारी संचरनाहरू जलेर नष्ट भए।

कहाँ कहाँ के के भयो क्षति ?

काठमाडौँमा सिंहदरबार, संसद् भवन, जिल्ला अदालत काठमाडौँ, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला सरकारी वकिलको कार्यालय, महान्यायाधीवक्ताको कार्यालय, बबर महल (सडक विभाग), उपत्यका ट्राफिक प्रहरी महाशाखा, राष्ट्रपतिको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलगायत प्रमुख सरकारी भवनहरू जलेका छन्।

नागरिक उड्यान प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग, कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा पनि आगो लगाइएको छ।

यस्तै आन्दोलनकारीले भक्तपुरस्थित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर, रातोपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर, भंगालस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर, दहचोकस्थित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको घरसहित नेताहरूका निजी सम्पत्ति समेत जलाइएको छ।

बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर जलाइएको छ। आन्दोलनकारीको कुटपिटमा परेका देउवा दम्पत्तिको उपचार जारी छ। खुमलटार र चितवनस्थित पुष्पकमल दाहालको घर पनि जलेको छ। भैँसीपाटीस्थित मन्त्रि क्वाटरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्। काठमाडौँसहित बाह्य जिल्लामा शीर्ष दलका पार्टी कार्यालयहरूमा आगजनी गरिएको छ।

तीनकुनेस्थित प्रहरी कार्यालय र गौशाला प्रहरी वित्तसहित धेरै प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरी प्रदर्शनकारीहरूले हतियार पनि कब्जामा लिएका छन्।

प्रदर्शनकारीहरूको निशानामा निजी क्षेत्र पनि परेका छन्। कान्तिपुर दैनिकको तीनकुनेस्थित टेलिभिजन र थापाथलीस्थित पत्रिकाको भवनमा आगो लगाइएको छ। थापाथलीस्थित अटोहब पनि प्रदर्शनकारीको निशानामा परेको छ। सुजुकी, टाटा, सिजी, महिन्द्रा, हुण्डाईका शोरुममा आगो लगाइँदा दर्जनौँ नयाँ कारहरू जलेर नष्ट भएका छन्।

बानेश्वस्थित राष्ट्रिय वाणिज्य बैंक र बत्तीसपुतलीस्थित हिमालयन बै‌ंकमा लुटपाट गरिएको छ।

यसैगरी नेपाल राष्ट्र बैंकमा आगो लगाइनुका साथै एनएमबी, ग्लोबल आईएमई बैंकका बुथ फुटाइएको छ। एनसेल कर्पोरेट टावर, नक्सालस्थित हिल्टन होटल, बालुटारस्थित वर्णबास होटल, काठमाडौँका चाबहिल र नक्साल तथा विराटनगर र चितवनस्थित भाटभटेनीमा लुटपाटपछि आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन गरेको चन्द्रागिरी केवलकारमा पनि आगो लगाएका छन् भने कोटेश्वरको सिम्रिक एयरको भवन पनि जलाइएको छ।

नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले निकालेका छन्। सोही जेलबाट जनकपुर बम विस्फोटका अभियुक्त सञ्जय टकला समेत भागेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारसहित कैलाली, सोलुखुम्बु, महोत्तरी, दाङ, कास्की, हेटौँडालगायत विभिन्न जिल्लाबाट हजारौँ कैदीहरू भागेका छन्।

यसैगरी कोशी प्रदेशसभा भवन र मुख्यमन्त्रीको कार्यालय, मधेश प्रदेश सरकारको मुख्यालय र मधेश प्रदेश सरकारको सचिवालयका सबै भवन, गण्डकी प्रदेशसभा भवन, बागमती प्रदेश सरकारका अधिकांश मन्त्रालय, सुर्खेतस्थित प्रदेशसभा कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यलयमा पनि आगजनी भएको छ। यस्तै मेची भन्सार र आन्तरिक राजस्व कार्यालय कोशीमा पनि क्षति पुर्‍याइएको छ।

पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय कास्की, हेटौँडा उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली, नापी कार्यालय सुर्खेतसहित काठमाडौँबाहिर पनि दर्जनौँ सरकारी भवनमा आगजनी गरिएको छ।

देशभर भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित मिति : भाद्र २५, २०८२ बुधबार  १० : १७ बजे