काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा कार्यक्रम गरेको छ। एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा संविधान दिवस मनाउन लागेको हो।
अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी छैनन्। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीपछि प्रधानमन्त्री पदबाट राजीनामा दिई सेनाको कडा सुरक्षा घेरामा रहेका उनी बिहीबार मात्रै बाहिर निस्किएका हुन्। उनलाई एमाले नेता महेश बस्नेतले आफ्नै घर नजिक डेरामा सारेका छन्।
भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। सो प्रदर्शनलाई सरकारले दमन गर्दै टाउको र छातीमा ताकी ताकी प्रदर्शनकारीलाई गोली हानेको थियो। त्यसदिन १९ प्रदर्शनकारीहरू मारिएका थिए। सरकारी दमनपछि दोस्रो दिन भदौ २४ गते आन्दोलन थप चर्किएपछि ओली राजीनामा दिन बाध्य भएका थिए।
एमालेले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा उपस्थित नभए पनि पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शनमा सरकारले ताकी ताकी गोली हान्न आदेश नदिएको प्रष्टोक्ति दिँदै प्रहरीसँग हुँदै नभएका हतियारबाट गोली चलेको जिकिर गरेका छन्। उनले उक्त घटनाको छानबिन गर्न पनि माग गरेका छन्।
प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसहित सरकारी भवनहरू जलाएका थिए। शीर्ष नेताहरूका घरसहित व्यापारिक कम्पलेक्सहरू पनि आगजनीको निशानामा परेका थिए। उक्त प्रदर्शनीमा हालसम्म ७२ जनाको मृत्यु भएको छ।
उक्त प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री नियुक्तिपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै आगामी फागुन २१ निर्वाचनको मिति तोकेका छन्।









