गगनलक्षित प्रकाशशरण महतको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो



काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाएका छन् ।

परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताएका छन् ।

आईतवार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गरे ।

आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको ठम्याइ छ ।नेता महतले अहिले कांग्रेस एक भएर अघि बढ्ने समय रहेको भन्दै विभाजनकारी प्रवृत्ति गलत भएको टिप्पणी गरे । ‘अहिले एक हुने बेला हो । एक भएर आफ्ना कमीकमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ । तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,’ उनले भने ।

‘चार दिनअघिसम्म सभापति अत्यन्तै ठिक हुनुहुन्थ्यो, उहाँहरूसँग निकटता देखाउनेहरू नै अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गर्नेहरू त्यतिबेला सबैभन्दा नजिकका साथीहरू हुनुहुन्थ्यो,’ महतले भने ।

प्रकाशित मिति : आश्विन ५, २०८२ आईतबार  ११ : ३० बजे