काठमाडौँ । आफू प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राखेका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान ‘गुप्तचर’ विभाग सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने गर्ने भएको छ।
आइतबार बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गर्न लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ। उक्त निर्णयसँगै राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने छ।
ओलीले आफू प्रधानमन्त्री बनेपछि २०७५ फागुन १६ गते तीन शक्तिशाली विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत लगेका थिए। ओलीको उक्त निर्णयको आलोचना समेत भएको थियो।
प्रधानमन्त्री कार्यालयअन्तर्गत लगिएको साढे ६ वर्षपछि ती विभागहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्न लागिएको हो।









