राजसंस्थासहित सबैसँग संवाद गर्न ढिला नगरौं : काँग्रेस पूर्वउपसभापति श्रेष्ठ



काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले लोकतन्त्रमा फरक मतको सम्मान अपरिहार्य हुने बताउँदै राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर हाल देखिएको राजनीतिक समस्या हल गर्नुपर्ने बताएका छन् ।

आईतवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनल यस्तो बताएका हुन् । जेन–जी पुस्तादेखि परम्परागत राजनीतिक दलहरुको विचारलाई स्वीकार गर्ने शाहस राजनीतिक दलहरूले देखाउनुपर्ने उनको भनाइ छ ।

उनले जेन—जी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै उत्पन्न समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वबाट खोजिनुपर्नेमा जोड दिए।

परम्परागत राजनीतिक शक्तिहरूलाई समेत आत्मसात गर्दै सबै पक्षसँग संवादमार्फत राजनीतिक निकास खोज्न ढिला गर्दा मुलुकमा बाहिरी शक्तिको हस्तक्षेप बढ्ने चेतावनी दिए । उनले अहिलेको सरकारले लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई निषेश गर्ने नीति लिएको भन्दै आपत्ति समेत जनाए ।

लोकतन्त्रको नाममा एनजीओहरूले राजनीतिक दलहरूलाई विस्थापित गर्ने प्रपञ्च चलिरहेको उल्लेख गर्दै श्रेष्ठले यो कार्य लोकतन्त्र, राष्ट्रियता र स्वाधीनतामाथिको खतरा भएको दाबि गरे ।

प्रकाशित मिति : कार्तिक २, २०८२ आईतबार  ७ : ५६ बजे