काठमाडौँ घोषणापत्र जारी गर्दै एनआरएनएको नवौँ सम्मेलन सम्पन्न: यस्ता छन आगामी प्रतिबद्दता



काठमाडौं –

सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ ।

एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।अबको केही महीनापछि नै औपचारिकरूपमा शुरुआत हुने भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन एनआरएनएले विश्वभरि रहेको आफ्नो बलियो सञ्जाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गरेको छ ।

एनआरएनले विदेशी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता अविलम्ब गर्न नेपाल सरकारसँग आह्वान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्याङ्क तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धानसम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

“सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्नेसमेत तीन महत्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान हुनसक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ”, घोषणपत्रमा भनिएको छ ।‘

काठमाडौँमा यही असोज २८ देखि ३० गते सम्मेलन भएको एनआरएनएको तीनदिने सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्मेलनमा ं ८० देशका दुई हजार ६५६ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार  ७ : ५२ बजे