काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ।
मंगलबार बिहान सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको छ।
उनीहरू सोमबार पनि मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजेका थिए। तर प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर बाहिरिएका थिए। मागपत्र बुझ्न प्रधानमन्त्रीले समय नदिएको गुनासो उनीहरूले गर्दै आएका छन्।
उनीहरूले हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने, स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्नुपर्ने, जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन्।
यसैगरी शहीद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने, भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर्नुपर्ने तथा २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरीी दोषी उपर कडा कारबाही गर्नुपर्ने, जेन-जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर्नुपर्ने र विधिको शासन कायम गर्नुपर्ने, प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्याएकाले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर्नुपर्नेलगायतका माग राखेका छन्।









