प्रधानमन्त्री कार्कीद्वारा जंगी अड्डा निरीक्षण,निर्वाचन सुरक्षा तयारीबारे जानकारी



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

साथै प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न सेनालाई निर्देशन दिईन् ।

प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार  ३ : ३२ बजे